२७ असार २०८३, शनिबार

मिटरब्याजीसँग लड्दालड्दै अस्ताए महेशलालः १४ दिनपछि सुमित्रादेवीले पाइन् धनीपुर्जा

साउन २३, २०८१
विराटनगर
मिटरब्याजीसँग लड्दालड्दै अस्ताए महेशलालः १४ दिनपछि सुमित्रादेवीले पाइन् धनीपुर्जा
सुमित्रादेवी मण्डल ।

विराटनगर १८ लावाघाट मिटरब्याजीबाट पीडित भएकाहरूको टोल हो । यो टोलका आधा दर्जन बासिन्दालाई सुनिल साह भन्ने एउटै व्यक्तिले झण्डै उठीबास लगाएका थिए । तीमध्ये एक पीडित थिए महेशलाल मण्डल । उनको घरमा आइतवार लोकान्तर प्रतिनिधि पुग्दा महिलाहरू भेला भएका थिए । त्यहाँ एक वित्तीय संस्थाको बचत गर्ने दिन रहेछ । यहाँका बासिन्दा महेशलालकै घरमा प्रत्येक महिना भेला भएर बचत गर्दा रहेछन् । 

महेशलाल दाइलाई बोलाइदिन भनेपछि एक महिलाले उनकी श्रीमती सुमित्रादेवी मण्डललाई बोलाइदिइन् । अँध्यारो अनुहार लगाउँदै सुमित्रा बाहिर निस्किइन् । उनले श्रीमान् घरमा नभएको बताइन् । गत फागुनमा महेशलाल घरमै भेटिएका थिए । उनी काम गर्न जान्थे । ‘काममा जानु भयो ? भनेर सोध्दा उनकी श्रीमती सुमित्रादेवीले भावुक भएर ‘होइन माथि जानु भयो’ भन्ने जवाफ दिइन् । 

बुझ्दा महेशलालको १४ दिनअगाडि नै मृत्यु भइसकेको रहेछ । श्रीमती सुवित्रादेवीको आशय त्यही रहेछ । गत फागुनमा महेशलाल हट्टाकट्टा देखिन्थे । त्यतिबेला आफूलाई कुनै रोग नभएको तर मिटरब्याजी सुनिल साहले भने पीडा दिएको सुनाउँथे । ५८ वर्षका  महेशलालले सुनिलसँग विसं २०६८ सालमा ४ कट्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ कर्जा लिएका थिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरिसकेका थिए । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै सुनिलले दुःख दिने गरेको त्यति बेला उनले लोकान्तरसँगको कुराकानीमा भनेका थिए ।

श्यामसुन्दर साह, लक्ष्मी साह र सुमित्रादेवी ।  

महेशलालले स्थानीय जनप्रतिनिधिदेखि मोरङ प्रशासनसम्मलाई आफ्नो पीडा सुनाए । उनीसहित विराटनगर १८ को लावाघाट र दिगादिगीका अन्य मिटरब्याजीपीडितले प्रशासनमा उजुरी पनि दिए । उजुरी दिएपछि प्रशासनले बोलाउने छलफलमा महेशलाल आफैँ जाने गरेका थिए ।  तर, धनीपुर्जा हात पर्ने १४ दिनअघि उनको निधन भयो  । यसले गर्दा परिवारलाई धनीपुर्जाले पनि खुसी दिन सकिरहेको छैन । 

सुनिलको मिटरब्याजी धन्दाले पिरोलिएकै कारण श्रीमानले अकालमै ज्यान गुमाउनु परेको श्रीमती सुमित्रादेवीको आरोप छ । ‘जग्गा फिर्ता ल्याउन भनेर लाग्नु भयो,’ उनले भनिन्, ‘गुमेको जग्गाको पुर्जा ल्याएर परिवारसँग खुसी साट्ने भन्नु हुन्थ्यो । तर उहाँको सपना पूरा भएन । मान्छे परलोक हुनुभयो, जग्गा आयो ।’ श्रीमानले लडेको लडाइका कारण अब सन्तानलाई सहज भएको भन्दै सुमित्रादेवीले चित्त बुझाउन खोजिन् । ‘श्रीमानले छाडेर गएपनि उहाँकै देनका कारण गुमेको जग्गा फिर्ता ल्याउन सहज भएको छ,’ लोकान्तरसँगको कुराकानीमा उनले भनिन् । न्याय नपाइ श्रीमानको मृत्यु भएको पीडा थाँती राखेर ५४ वर्षीया सुमित्रादेवी पुर्जा देखाउँदै थोरै खुसी भइन् । 

सुमित्रादेवीका श्रीमानजस्तै लावाघाट टोलका आधा दर्जनले मिटरब्याजी सुनिलका विरुद्ध एकसाथ लडेका थिए । उनीहरूले गुमाएको सम्पत्ति फिर्ता लिएका छन् । ६५ वर्षीया वृद्ध लक्ष्मी साह पनि पुर्जा हातमा परेपछि दङ्ग छिन् । मिटरब्याजीले हडपेको घरसहितको १७ धुर जग्गा आठ वर्षपछि  आफ्नो नाममा आएपछि आफू खुसी भएको उनले बताइन ।

null 

विराटनगर १८ कै ५३ वर्षीय सुनिल साहसँग १७ धुर घरसहितको जग्गा राजीनामा पास गरेर १ लाख रुपैयाँ कर्जा लिएको लक्ष्मीले बताइन् । ‘ऋण लिँदा मासिक सयकडा ३ रुपैयाँ ब्याज तोकिएको थियो,’ उनले भनिन् ‘ऋण १ लाख लिए पनि ९ गुणा बढाए र ९ लाखको कपाली तमसुक गराए ।’ 

लक्ष्मीका छोरा नारायणले १ लाख ऋण लिएको वर्षदिनमै २ लाख रुपैयाँ बुझाएका थिए । तर साहु सुनिलले ९ लाख रुपैयाँ अझ बाँकी रहेको भन्दै घडेरी र कपाली तमसुक फिर्ता नगर्ने बताए । लक्ष्मीका अनुसार सुनिल मानिसहरू लिएर आउँथे र घडेरी खाली गराउन धम्की दिन्थे, गालीगलौज गर्थे । साहुको हप्कीदप्कीबाट आजित लक्ष्मीको परिवार घरघडेरी खाली गरेर अन्तै जाने मनस्थितिमा पुगेको थियो । मिटरब्याजविरुद्ध देशभर आन्दोलन चर्कँदै जाँदा यहाँका पीडितहरू पनि प्रशासनको ढोका ढक्ढक्याउन पुगेका थिए । सरकारले मिटरब्याजसम्बन्धी अध्यादेश ल्याएपछि लक्ष्मी र उनको परिवारमा आशा पलायो । 

साहुकार सुनिलविरुद्ध लक्ष्मीको परिवारसँगै लावाघाट र दिगादिगी बस्तीका आधा दर्जन मिटरब्याजपीडितले १० फागुनमा जिल्ला प्रशासन कार्यालय, मोरङमा उजुरी दिए । प्रशासनमा उजुरी दिएको ५ महिनापछि आइतवार लक्ष्मीसहित ६ जनाको जग्गा सुनिलले फिर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा चारपटक छलफल गरेपछि सुनिलले लक्ष्मी र सुमित्रादेवीसँगै लावाघाटकै ५६ वर्षीय श्यामसुन्दर साह, मिनादेवी मण्डल र दिगादिगीकी पुनम मण्डलको जग्गा फिर्ता गरिदिएका हुन् । साहुकार सुनिलले दिलीपकुमार अमातको बढी रकम फिर्ता गरिदिएको बताइएको छ । सुनिलले दिलीपलाई १ लाख २५ हजार रुपैयाँ फिर्ता गरिदिएका छन् । सुनिलले लक्ष्मीसहित अन्य पीडितको कपाली तमसुक फिर्ता गर्नुका साथै मालपोतमा गएर जग्गा फिर्ता गरिदिएको उनीहरूले बताए ।

null

यसरी जग्गा फिर्ता पाउनेमध्ये एक हुन् ५६ वर्षीय श्यामसुन्दर साह । उनले ५ कट्ठा ६ धुर जग्गा राजीनामा पास गरेर १ लाख लिएका थिए । उनले साहुकार सुनिललाई १ लाखको विभिन्न मितिमा ७ लाख ७५ हजार रुपैयाँ दिए । अझै सुनिलले २० लाख दिएपछि मात्रै जग्गा पास गरिदिने भन्दै धम्काउँदै आएका थिए । जिल्ला प्रशासन कार्यालयको छलफलमा १ लाख दिएपछि १४ वर्षअगाडि राजीनामा पास गरेको जग्गा फिर्ता पाएको उनले बताए ।

यसैगरी मिटरब्याजी सुनिलले ऋण दिएको रकम समयमै फिर्ता नदिएको भन्दै दिगादिगीका दिलीपकुमार अमातको १० कट्ठा जग्गा बिक्री गरिदिए । दिलीपले ४ वर्षअघि ६ लाख रुपैयाँ ऋण लिएका थिए । ६ लाखको ३ लाख रुपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै दिलीपकी श्रीमती अनिता आमातको नाममा विराटनगर १८ मा रहेको कित्ता नम्बर ३१७ र ३१६ को १० कट्ठा जग्गा बेचिदिए । 

यसैगरी रमानन्द मण्डलले आफ्नी श्रीमती पुनम मण्डलको नाममा रहेको ४ कट्ठा जग्गा ६ वर्षअघि सुनिलसँग धितो राखेर १ लाख ८० हजार रुपैयाँ लिए । पछि उनले १ लाख ८० हजार सावाँसहित ब्याज पनि सुनिललाई फिर्ता गरे । तर सुनिलले मानेनन् । ८ लाख बुझाए मात्रै ४ कट्ठा जग्गा फिर्ता दिने सुनिलले बताउँदै आएका थिए । पछि प्रशासनसँगको छलफलपछि ३ लाख ५० हजार दिएपछि जग्गा फिर्ता आएको रमानन्दले बताए ।

null

लामो प्रयासपछि गुमेको जग्गा फिर्ता पाएपछि अहिले उनीहरू दङ्ग छन् । यसरी आफूहरूले न्याय पाउनुमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहलाई श्रेय जाने पीडितहरू बताउँछन् । उनै सहायक प्रजिअ प्रदीपले भूमिका खेलिदिएका कारण आफूहरू सुकुम्बासीबाट हुनबाट जोगिएको उनीहरूले भनाइ छ । 

स्थानीयले जग्गा पुर्जा पाएपछि प्रदीपकै कार्यकक्षमा पुगेर लड्डु बाँडेका थिए । अहिलेसम्म उजुरी परेकामध्ये ११० जना पीडितले जग्गा र पाउने पैसा फिर्ता गरेको उनले बताए । ‘चारपटक छलफल गरेपछि मिटरब्याजी सुनिल साह बल्ल जग्गा फिर्ता गर्न तयार भए,’ उनले भने,‘ पीडितले न्याय पाएँ भनेर कार्यकक्षमै लड्डु लिएर आउँदा मेरा आँखाबाट आँसु नै झरे ।’ उजुरी परेकामध्ये ९० वटा निवेदन अदालत पठाउने तयारी गरिएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्