
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन् । बुधवार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट कांग्रेसले धोका पाएर विपक्षमा पुगेपछि सभापति देउवाले सुजबुझपूर्ण रुपमा दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिएको भन्दै गृहमन्त्री लेखकले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।
‘कांग्रेस सबैभन्दा ठूलो हुँदाहुँदै पनि संघमा मात्र होइन सातवटै प्रदेशमा विपक्षमा बस्नुपर्ने परिस्थिति पार्टीका साथीसँगै सबै लोकतन्त्रवादी जनताका लागि पीडादायी विषय भयो,’ उनले भने, ‘पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले अत्यन्त सुजबुझ राखेर दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिनुभयो । हामी नयाँ समीकरणमा लागौं ।’
एमालेसँग पटक–पटकको वार्ता र संवादबाट असार १७ गते कांग्रेस र एमालेका बीचमा नयाँ समीकरण बनाउने सहमति भएको गृहमन्त्री लेखकको ब्रिफिङ थियो । ‘सात बुँदे सहमतिपत्रमा हाम्रा सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभयो । त्यसपछि यो सरकार बन्ने मार्गप्रशस्त भयो । हामीले सरकार गठन गरौं,’ उनले थपे ।
गृहमन्त्री लेखकले बैठकमा कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि भएको सात बुँदे सहमति पढेर सुनाएका थिए । साथै उनले वर्तमान सत्ता सरकारका सबल पक्ष प्रस्तुत गरेका थिए ।
साथै देशमा दिगो शान्ति, विकास, समृद्धि प्राप्त गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने सुदृढ गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।
कांग्रेस–एमालेको समीकरणले संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताए । ‘संविधान जारी भएको ९ वर्ष भइसकेको छ । यो ९ वर्षमा संविधानको अभ्यासको प्रयोगमा देखा परेका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधानको जटिलतालाई पहिचान गरी आवश्यकताअनुसार सहमतिकै आधारमा संविधान संशोधन गर्ने लगायतका कुरा छ,’ उनले भने ।
गृहमन्त्री लेखकले कांग्रेस र एमालेको समीकरणलाई असफल भए मुलुक दुरावस्थामा जाने खतरा रहेको दाबीसमेत गरे ।