०७ असार २०८३, आइतबार

अनुभवी पाइलट थिए–कसरी भयो दुर्घटना ?

साउन २३, २०८१
काठमाडौं
अनुभवी पाइलट थिए–कसरी भयो दुर्घटना ?

 बुधबार दिउँसो एयर डाइनोस्टीको हेलिकप्टर भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको थियो । चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छोडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाडौँ ल्याउने  योजना थियो ।

 तर विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला प-यो ।

एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट मल्ल वरिष्ठ र अनुभवी पाइलट थिए । उनले करिब सात हजार घण्टा उडान भरेका थिए । लोड पनि धेरै थिएन । चार जना मात्रै यात्रु थिए । तर पनि कसरी दुर्घटना भयो भनेर प्राधिकरणका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । 

“दुर्घटना अप्रत्यासित छ, आजको मौसम सफा थियो । काठमाडौँमा ‘भिएफआर फ्लाइट’ चलिरहेको थियो । काठमाडौँबाट पाँच किलोमिटरसम्मको ‘भिजिबिलिटी क्लियर’ थियो । तर, पनि कसरी दुर्घटना भयो । मौसम बिग्रिएर भयो कि अरु कारणले भयो भन्नेबारे जाँच आयोगको प्रतिवेदनपश्चात् मात्रै भन्न सकिन्छ”, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने, “काठमाडौँको नजिकै जुनकिसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ, प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ । एयरलाइन्सको आन्तरिक सेफ्टी अडिट पनि गर्छौँ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । 

बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको हवाई विज्ञ अच्युत पहाडीले बताए । “दुई सातामै दुई वटा दुर्घटना हुनुभएको दुर्भाग्य हो, तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ”, उनले भने, “नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ ।”

  विज्ञ पहाडीले हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेको उल्लेख गरे । 

कमेन्ट गर्नुहोस्