२० असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

कुलमानले पठाए प्रमाण, प्राधिकरणका दुई सञ्चालकलाई सर्वोच्चबाट राहत

साउन २५, २०८१
काठमाडौं
कुलमानले पठाए प्रमाण, प्राधिकरणका दुई सञ्चालकलाई सर्वोच्चबाट राहत

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले प्रदेशलाई कमजोर बनाइएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबारको केन्द्रीय समितिको बैठकमा उनीहरूले संविधानले अधिकार दिए पनि सरकार र पार्टीहरूले बेवास्ता गरेको आरोप लगाए । 

सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, बागमतीका इन्द्र बानियाँ, कर्णालीका ललितजंग शाही, लुम्बिनीका अमरसिंह पुन र गण्डकीका शुक्रराज शर्माले प्रदेशलाई किन कमजोर बनाएको ? भन्दै प्रश्न उठाएका हुन् । 
००००
नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सेनामा पदबाट राजीनामा दिएका छन् । तिमिल्सेनाले लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष साउन २१ गते राजीनामा बुझाएका हुन् । 

चौधरीले तिमिल्सेनालाई २०७९ फागुन १३ गते प्रमुख सचेतकमा नियुक्त गरेका थिए । पार्टीभित्रको असन्तुष्टिपछि उनले राजीनामा दिएको बताइएको छ ।
००००
सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज गरेको छ । सरकारले निर्देशिका नै खारेज गरेर उक्त पद पनि खारेज गरेको हो ।
पूर्वमुख्यसचिव शंकरदास बैरागी सुरक्षा सल्लाहकार थिए । उनले निर्देशिका खारेज गर्ने छनक पाएपछि यसअघि नै पदबाट राजीनामा दिएका थिए ।  
००००
नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क बिहीवार बुझाएको छ ।

समितिले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टीओडी) मिटरको सबै विवरण पेश गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिए ।
००००
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बिहीवार सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको हो । 

सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि कपिल आचार्य र भक्तबहादुर पुन सर्वोच्च पुगेका थिए । सरकारले उनीहरूलाई साउन २० गते हटाएर प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।
००००
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ ।
 राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसंगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ ।

विभिन्न प्रश्न उठाउँदै एफसीले  केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भनेपछि गत चैत महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।
००००
प्रधानसेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । 

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीवार आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले शुक्रवारदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार हस्तान्तरण गरेका हुन् ।
००००
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

सम्बन्धित मन्त्रालयका सचिव, योजना तथा बजेट महाशाखाका प्रमुखसँग बिहीबार अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गर्दै पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
००००
तीव्र उतारचढावपछि नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक ६.७० अंकले  बढेर २७६६.३८ बिन्दुमा कायम भएको हो ।
००००
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट र यात्रीको शव परीक्षणको काम थालिएको छ । 
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन् । असार ३१ गते गठित मन्त्रिपरिषद्मा बिहीवार मर्यादाक्रम हेरफेर गरिएको हो ।

वरीयताको १४ औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई १६ औं नम्बरमा र १६ औं नम्बरका पर्यटनमन्त्री बद्री पाण्डेलाई १४ नम्बरको मन्त्री बनाइएको छ ।
००००
काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको पाइएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सूचित गराएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्