
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार गरेको पत्रकार सम्मेलनमा आफ्ना समर्थक छिराएर हुटिङ गर्न लगाएका छन् ।
पत्रकारहरूले केही प्रश्न सोधिसकेपछि ३ जना समर्थकले घिसिङलाई ऐक्यबद्धता जनाउन आएको भन्दै माइक समातेर बोलेका थिए ।
सबैभन्दा पहिला बोलेका समर्थकले भने, 'हामी त विद्युत् प्राधिकरण र तपाईंलाई ऐक्यबद्धता जनाउन आएका हौं । हामीले आम जनताको स्तरबाट तपाईंको पक्षमा माहोल बनाउन के गर्न सकिन्छ ?'
त्यसपछि बाँकीले हुटिङ गरे । ताली बजाए । उनीहरूमध्ये केहीले 'कुलमान जिन्दावाद' भनिरहेका थिए, तर त्यो क्यामेरामा भने रेकर्ड भएन ।
त्यसलगत्तै बोलेका अर्का समर्थकले भने, 'नेपाली जनतालाई अन्धकारदेखि उज्यालोतर्फ लगेको भनेको कुलमान घिसिङले हो ।' यति भन्दा पुनः हुटिङ र ताली बज्यो ।
उनले प्राधिकरणलाई घाटा हुन नहुने, पैसा उठ्नुपर्ने र नेपाली जनताले यही चाहेको भन्दै चिच्याए । त्यसपछि पनि बाँकी समर्थकले हुटिङ गरे ।
यता पत्रकारहरू भने आफ्नो माइक र क्यामेरा सम्हाल्न थालेका थिए । त्यसलगत्तै अर्का समर्थक उठे । उनले पनि कुलमानले सही गरेको दोहोर्याए ।
त्यसपछि उनले अन्तर्राष्ट्रिय एजेन्सीले पनि प्राधिकरणको राम्रो मूल्यांकन गरेको कुरा बुझ्नेछन् । त्यसबारेमा सोध्न खोजेका थिए ।
त्यसपछि अर्का समर्थक उठे । उनले भने, '६ जना उद्योगीले प्राधिकरणलाई पैसा तिर्नु नपर्ने भनेर सरकारले नै कुरा उठाउने तर बर्सेनि १ लाख ८० हजार जनताको लाइन काटिन्छ । त्यसको कुरा कसले उठाउने हो ?'
उनले त्यसअघि कति आम जनताको घरमा लाइन काटिएको छ भनेर सोधेका थिए । घिसिङले बर्सेनि १ लाख ८० हजारको लाइन काटिने गरेको जवाफ दिएका थिए ।
पत्रकार सम्मेलनमा आम रूपमा पत्रकारलाई बोलाइन्छ । तर घिसिङले आफ्नो पक्षमा हुटिङ गर्न दर्जन व्यक्तिहरू पनि सँगै बोलाएका थिए ।
घिसिङसँगै पत्रकार सम्मेलनमा अगाडिको कुर्चीमा बसेका एक निर्देशकले लोकान्तरसँग भने, 'पत्रकार सम्मेलनमा समर्थक बोलाएर हुटिङ गराएको मलाई पनि मन परेन ।'
उनले ती समर्थक पनि पत्रकार नै भएको हुनसक्ने शुरूमा आंकलन गरेको तर नाराबाजी र हुटिङ गर्न थालेपछि आफू उठेको बताए ।
डेडिकेटेड र ट्रंक लाइन विवाद चलिरहेका बेला बिहीबार घिसिङले सार्वजनिक लेखा समितिको सचिवालयमा लगभग १ लाख पेजको दस्तावेज पठाएका थिए ।
गत शुक्रबार बसेको लेखा समितिको बैठकले टीओडी(टाइम अफ डे) मिटरको तथ्यांक मात्र मागेको थियो तर घिसिङले ३७ वटा पानामा अन्य कागजात पनि पठाए ।
अनावश्यक कागजात पठाएको भन्दै लेखा समितिका सभापति ऋषिकेश पोखरेलले फिर्ता लैजानसमेत भनेका छन् ।
शुक्रबारको पत्रकार सम्मेलनमा घिसिङले प्राधिकरणले गरेको नाफालाई हाइलाइट्स गरेका थिए । उनले आफूले नेतृत्व सम्हालेपछि झण्डै १ खर्ब रुपैयाँ प्राधिकरणले नाफा गरेको दाबी गरे ।