१९ असार २०८३, शुक्रबार

कहाँ शरण लिन जालिन् हसिना ? भारतले धेरै समय नराख्ने, अमेरिका र युरोपमा गाह्रो

साउन २५, २०८१
काठमाडौं
कहाँ शरण लिन जालिन् हसिना ? भारतले धेरै समय नराख्ने, अमेरिका र युरोपमा गाह्रो

बंगलादेश छाडेर भागेको ४८ घण्टापछि पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको अन्तिम गन्तव्य कहाँ हुन्छ भन्ने प्रष्ट छैन ।

उनले बंगलादेश छाड्नुअघि भारतसँग अल्पकालीन अनुमति मागेकी थिइन् । भारतले तत्कालका लागि आफ्नो देशमा बस्न अनुमति पनि दियो, दिल्लीमै राखिरहन भारत तयार छैन ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भारत हसिनाको अन्तिम गन्तव्य नरहेको स्पष्टसँग बताइसकेका छन् ।

उनले भनेका छन्, 'शेख हसिनाले छोटो सूचनामा भारत भ्रमण गर्न अनुमति माग्नुभएको थियो ।'

शेख हसिनाका छोरा सजीव वाजेदले आफ्नी आमाले अन्य कुनै पनि देशसँग राजनीतिक शरण नमागेको बीबीसीसँगको एक अन्तर्वार्तामा बताएका थिए ।

यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ– 'हसिनालाई कुन देशले राजनीतिक शरण देला ?'

पश्चिममा शरण पाउन गाह्रो !

अन्तर्राष्ट्रिय संकट समूहका अनुसन्धानकर्ता टम किनले बीबीसी बंगलासँग कुरा गर्दै हसिनालाई पश्चिमी देशहरूमा राजनीतिक शरण पाउन गाह्रो रहेको टिप्पणी गरेका छन् ।

पछिल्लो केही दिनदेखि बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरूले हसिनाले प्रहरी र सेनालाई अन्तिम क्षणसम्म थप बल प्रयोग गर्न निर्देशन दिँदै आएको समाचार प्रशारण गरेका थिए, तर त्यो सम्भव भएन ।

वाशिङ्टनस्थित अनुसन्धान संस्थान 'विल्सन सेन्टर'का दक्षिण एसियाली संस्थानका निर्देशक माइकल कुगेलम्यानले शेख हसिनालाई कुनै पनि पश्चिमी देशमा राजनीतिक शरण पाउन निकै गाह्रो हुने बताएका छन् ।

शेख हसिनाको शासनकालका अन्तिम दिनहरूमा सरकारी पक्षबाट नै भएको मानवाधिकार उल्लङ्घनका घटना भएका कारण पश्चिमी देशहरू खुसी छैनन् ।

कुगेलम्यानले बीबीसी बंगलालाई भनेका छन्, 'शान्तिपूर्ण विरोध प्रदर्शनमा हसिना सरकारले दमन गर्ने बाटो अपनाएकोमा पश्चिमी देशहरूले कडा आपत्ति जनाएका थिए । यो हसिनाका लागि ठूलो चिन्ताको विषय हो ।'

यद्यपि हसिनाको परिवारका अन्य सदस्यहरू बेलायत, अमेरिकालगायत पश्चिमा देशहरूमा नै बसिरहेका छन् ।

इन्टरनेशनल क्राइसिस ग्रुपका टम किनको दाबी छ, 'हसिना सत्तामा रहन धेरैभन्दा धेरै मानिसलाई मार्न चाहन्थिन् ।'

टमले बंगलादेशमा भर्खरै भएका घटनाहरूको अन्तर्राष्ट्रिय फौजदारी अदालतले छानबिन गरेर मुद्दा चलाउने हो भने हसिना कहीँ बस्दा पनि सुरक्षित नहुने टिप्पणी गरिन् ।

विगतमा युरोप र अमेरिकामा तानाशाहले राजनीतिक शरण लिएका यस्ता उदाहरण धेरै छन् । साउदी अरबले मुस्लिम बाहुल्य देशका अपदस्थ तानाशाहलाई पनि आश्रय दिएको छ ।

हसिनाको हकमा पश्चिमी देश किन रुष्ट छन् ?

कतिपय विश्लेषकहरूले शीतयुद्धपछि पहिलोपटक यस्तो घटना भएको बताएका छन् ।

आफ्नो पतनपछि धेरै देशका शासकहरूले शीतयुद्धकालीन समयमा अमेरिका र युरोपमा राजनीतिक शरण लिएको तर अहिले अवस्था फरक भएको विश्लेषक टम किनको भनाइ छ ।

किन भन्छिन्, 'बंगलादेशमा भएका घटनाहरू सबैले देखेका छन् । यसका धेरै भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल छन् । २०/३० वर्षअघि यस्ता घटना छिट्टै फैलिने थिएनन् ।'

यद्यपि अमेरिका र युरोपका कतिपय देशले हसिनालाई राजनीतिक शरण दिन गाह्रो नमानेको उनको विश्लेषण छ ।

तानाशाह भागेर कहाँ जान्छन् ?

जब सत्ता तानाशाहको हातबाट खोसिन्छ, त्यसपछि उनीहरूको जीवनका लागि निकै ठूलो खतरा पैदा हुन्छ । उनीहरूमाथि जेल जाने वा ज्यान जाने भन्ने खतरा हुन्छ ।

धेरैजसो तानाशाहले सत्ता गुमाएर देश छाड्नुको कारण यही हो । आमजनताको असन्तुष्टिबाट जोगिनका लागि विदेशमा शरण लिनु एक मात्र विकल्प हुन जान्छ ।

क्रान्ति, जनआन्दोलन, सैनिक विद्रोह र गृहयुद्धका कारण सत्ता गुम्ने खतरा आएमा उनीहरू देशबाहिर सुरक्षित आश्रय खोज्छन् ।

स्पेनको युनिभर्सिटी अफ बार्सिलोनाका राजनीतिशास्त्रका प्राध्यापक अब्देल एस्क्राबा फोच र संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक ड्यानियल क्रामारिकले तानाशाहबारे अनुसन्धान गरेका छन् ।

उनीहरूले लेखेका छन्, 'दोस्रो विश्वयुद्धपछि तानाशाहहरूको प्राथमिकताको सूचीमा देश छाड्नु रहेको देखिएको छ । दोस्रो विश्वयुद्धपछि सत्ता छाड्न बाध्य भएका २० प्रतिशत तानाशाह निर्वासनमा गए ।'

तानाशाहहरूको निर्वासनले अक्सर उक्त देशको द्वन्द्व अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

उदाहरणका लागि सन् १९७९ मा युगाण्डाका विद्रोही र तान्जानियाली सेना युगाण्डाको राजधानी कम्पालातर्फ अघि बढिरहेका बेला युगाण्डाका तानाशाह इदी अमिन भागेर लिबिया गए । पछि उनले साउदी अरबमा शरण लिए ।

त्यसपछि सन् १९८६ मा फिलिपिन्सका तानाशाह मार्कोस फर्डिनान्डले आमजनताको विद्रोहपछि अमेरिकाको सहयोगमा भागेर हवाइमा शरण लिएका थिए ।

त्यतिबेलै हाइटीको तानाशाह जीन क्लाउड डुवालियरले जनताको विद्रोहपछि सत्ता गुमाए र फ्रान्समा शरण लिए ।

सन् २०११ मा मध्यपूर्व र उत्तर अफ्रिकी देशहरूमा जनविद्रोह शुरू भयो । त्यसलाई अरब विद्रोह पनि भनिन्छ । ती देशमा सत्तामा रहेको सरकार विनाचुनाव दशकौंसम्म सत्तामा रहेको उदाहरण छ ।

salt training

कमेन्ट गर्नुहोस्