
फिफा विश्वकपको 'राउन्ड अफ ३२' अन्तर्गत शुक्रबार बिहान लस एन्जलस स्टेडियममा भइरहेको खेलमा अस्ट्रियाले स्पेनविरुद्ध रक्षात्मक रणनीति लिएको छ । खेल सुरु भएको २० मिनेट बितिसक्दा दुवै टोलीबाट कुनै गोल हुन सकेको छैन र खेल ०–० को स्थितिमा छ।
खेलको सुरुवाती मिनेटदेखि नै स्पेनले बलमाथि आफ्नो नियन्त्रण जमाएको छ। विशेषगरी १८ वर्षीय युवा स्टार लामिने यामल निकै आक्रामक देखिएका छन्।
खेल सुरु भएको ६० सेकेन्डमै उनले अस्ट्रियाको पोस्टमा प्रहार गरेका थिए, जसलाई गोलरक्षक अलेक्जेन्डर श्लागरले बचाए। खेलको ११ औं मिनेटमा यामल डिबक्स भित्र लडेपछि पेनाल्टीको माग गरे पनि रेफ्रीले त्यसलाई अस्वीकार गरिदिए । मिडफिल्डमा रोड्री र पेड्रीले खेललाई नियन्त्रणमा लिएर स्पेनको आक्रमण बुन्न मद्दत गरिरहेका छन्।
अस्ट्रियाले स्पेनको दबाबलाई धैर्यताका साथ झेलिरहेको छ। १८ औं मिनेटमा अस्ट्रियाले पनि गोल गर्ने एउटा सुनौलो अवसर पाएको थियो। मार्सल साबिट्जरको उत्कृष्ट क्रसमा माइकल ग्रेगोरिट्चले हेडमार्फत गोल गर्ने प्रयास गरे पनि बल थोरैले बाहिरियो। सन् १९५४ पछि पहिलो पटक विश्वकपको नकआउट चरण खेलिरहेको अस्ट्रियाका लागि यो खेल ऐतिहासिक छ।
स्पेन सन् २०१० मा विश्वकप जितेयता नकआउट चरणमा पहिलो जितको खोजीमा छ। आजको खेल जित्ने टोलीले जुलाई ६ मा हुने अर्को चरणमा पोर्चुगल वा क्रोएसियाको सामना गर्नेछ।