
भारतको विदेश मन्त्रालयले 'छिमेकी पहिलो' नीतिअन्तर्गत आफ्ना विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमण गर्न लागेको जनाएको छ ।
नयाँ दिल्लीस्थित विदेश मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण एउटा अवसर हुने विश्वास लिएको बताएको छ ।
‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ ।’
पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको भारतीय विदेश मन्त्रालयले दाबी गरेको छ ।
‘भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न भएका छन् । नयाँ परियोजना अघि बढाइ उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
भारतको विदेश मन्त्रालयका सचिव मिस्री दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
विदेश सचिव मिस्री आइतवार काठमाडौं आउने छन् । उनको भ्रमण तालिका सोमवारसम्मको रहने छ ।
उनी परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्सालको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।
विनयमोहन क्वात्राले अवकास पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए ।