कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी मधुकरसिंह कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
यही साउन २२ गते बढुवा भएका कार्कीलाई शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी कार्की राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको सह संयोजकमा नियुक्त भएका छन् ।
सोही अवसरमा कायम मुकायम प्रधानसेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट महासेनानी डा. श्री समीर अर्याल, महासेनानी जगदीश खड्का र महासेनानी अमृतकाजी गुरुङलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
यस्तै, महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी शैलेन्द्र कोइरालालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भारतको इण्डियन मिलिटरी एकेडेमीबाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी स्वदेश फर्किएका ४ जना अधिकृत क्याडेटहरूलाई पनि कामय मुकायम प्रधानसेनापतिले उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरेका छन् ।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।