
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रुखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो ।
२०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम हो ।
सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका– ६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रूपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिइन् ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।
घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ ।
६ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रुखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत् प्रवाह हुँदा एकैसाथ चार जनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताए । आफूहरूलाई करेन्ट प्रवाह भएको जानकारी नहुँदा भर्याङले तारमा छुँदा करेन्ट लागेको उनको भनाइ छ ।