
झापाको अर्जुनधारा नगरपालिका– ४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा–४ स्थित देवान चोकका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ छन् ।
प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः३० बजे देवान चोकबाटै उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
गत साउन २५ गते राति अर्जुनधारा–७ मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी शुरू गरेको थियो ।
चोरीमा संलग्नको खोजी गर्ने क्रममा शनिबार राति १०ः३० बजे उनीहरूलाई शङ्कास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताए ।
प्रहरीले उनीहरूका साथबाट चोरीको समान र अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीले आदित्य लिम्बूका साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको रु ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको रु ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।
प्रहरीले चोरी गर्दा प्रयोग भएको एउटा खुकुरीसमेत किराना पसलबाट बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।