
३० महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २८०० बिन्दु पार गरेको छ ।
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६० को बिन्दुमा कायम भएको छ ।
यसअघि अन्तिमपटक २०७८ माघ २७ गते परिसूचक २८०१.५६ को बिन्दुमा अडिएको थियो ।
आज कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ ।
आज बजारमा ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयरको खरिदबिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ, नेप्से इतिहासकै उच्च कारोबार हो ।
गत साउन २२ गते मात्रै शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको थियो । साउन २२ गते मात्रै २३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको थियो, जुन आज आइतबार तोडिएको छ ।
आइतबार ११ कम्पनीको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।
नेशनल हाइड्रोपावर कम्पनी, निरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, आखुँखोला जलविद्युत कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, शुभम पावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मिडसोलु हाइड्रोपार लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
त्यस्तै, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लगेको छ भने यसका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
यस दिन उपसमूहतर्फका १३ वटै समूहहरू बढेका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब ५२ करोड २ लाख ४७ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
आइतबार बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।