
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप चार दिनको म्याद दिएको छ ।
आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले झालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।
ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार झाविरुद्धको मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेकाले मिसिल सरकारी वकिल कार्यालयमा बुझाउने तयारीमा रहेको बताए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ‘बिचौलीया’को भूमिका निभाउने प्रमुख पात्रमध्ये एक रहेका झा ४५ दिनदेखि प्रहरी हिरासतमा छन् ।
राजनीतिक पहुँच र प्रभाव देखाएर सिंहदरबारदेखि बालुवाटार हुँदै बूढानीलकण्ठसम्मको हवाला दिएर झाले रकम असुलेको बताइन्छ ।
काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ ।
उनको साथमा फेला परेको आधार कार्डको आधिकारिकताबारे प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत भारतमा कूटनीतिक पत्राचार गरेको छ ।