
धरानमा खानेपानीको सेवा शुल्क र महसुल पुरानै कायम गरिने भएको छ । धरान खानेपानी व्यवस्थापन बोर्ड र १० दलीय संयुक्त सङ्घर्ष समितिबिच आइतबार भएको वार्तामा बढाइएको दर रेट लागु नगर्ने सहमति भएको हो ।
नेपाल सरकार खानेपानी महसुल निर्धारण आयोगको स्वीकृति नआएसम्म बोर्डले वृद्धि गरेको शुल्क र महसुल स्थगित गरी पुरानै सेवा शुल्क र महसुलको दर यथावत् राख्ने सहमति भएको धरानका पूर्व मेयर समेत रहेका नेपाली काँग्रेसका नेता तिलक राईले बताए ।
आइतबार दिउँसो २ देखि साँझ ८ बजे सम्म चलेको वार्ताले पछि भएको ३ बुँदे सहमितको निर्णय नं १ मा भनिएको छ, ‘खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइन्जेल सम्म पुरानै दर महसुल यथावत् राखी पुनर्विचार गर्ने, धरान खानेपानी व्यवस्थापन बोर्डको पूर्णताको विषयमा उच्च अदालतमा विचाराधीन रहेको हुनाले अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार हुने र धरान खानेपानी बोर्डको आय व्यय विवरण ७ (सात) दिन भित्र सार्वजनिक गर्ने ।’
उपमहानगरपालिकाको कार्यालयमा भएको वार्तामा आन्दोलनरत पक्षको तर्फबाट धरानका उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई नेपाली काँग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एसका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की,नागरिक उन्मुक्ति पार्टीका अमर इजम,संघीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपी कोयु लगायतका नेता सहभागी भएका थिए । बोर्डको तर्फबाट बोर्डका अध्यक्ष समेत रहेका मेयर हर्कराज राई र कार्यकारी निर्देशक राजु पोख्रेल सहभागी भएका थिए ।
वार्तापछि भने आन्दोलनका कार्यक्रम स्थगित गरिएको १० राजनीतिक दलले जनाएका छन् ।