
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । शनिबारसम्म एक हजार तीन सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए । सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाका ४८ वर्षीय एक पुरुषको यही साउन १० गते निधन भएको उनले बताए ।
तनहुँपछि कास्की डेङ्गुबाट बढी प्रभावित छ । निर्देशनालयको तथ्याङ्कअनुसार कास्कीमा चार सय ८० जना सङ्क्रमण पुष्टि भएको छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गु सङ्क्रमित भेटिएका थिए । यस्तै, गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी शर्माले बताए ।
असारयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । अङ्ग्रेजी जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै चार सय ७४ जनामा डेङ्गुको सङ्क्रम पुष्टि भएको निर्देशनालयले जनाएको छ । गत जनवरीमा ७० जनामा डेङ्गुको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको सङ्ख्या थपिँदै आएको हो ।