काठमाडौं १२ कात्तिक– मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पार्टीका शीर्ष नेताहरुको उम्मेदवारी टुंगो लगाएको छ । आइतवार नै सम्पूर्ण क्षेत्रको टुंगो लगाउने एमालेको तयारी छ ।

लामो समयको गृहकार्यपछि एमालेले अधिकाशं स्थानको उम्मेदवारी टुंगो लगाएको हो । मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारी मनोनयन हुँदैछ ।
अध्यक्ष केपी ओली गृहजिल्ला झापा ५ बाट चुनाव लड्ने पक्का भएको छ । गत संविधानसभा चुनावमा ओली झापा ७ बाट विजयी अध्यक्ष भएका थिए । निर्वाचन क्षेत्र निर्धारण आयोगले साविकको ७ लाई ५ नम्बरमा पारेको थियो ।
बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं २ बाट चुनाव लड्ने पक्का भएको छ । गत संविधानसभा चुनावमा काठमाडौं र रौतहटबाट चुनाव लडेका नेता नेपालले उपनिर्वाचनमा काठमाडौं छाडेका थिए । माओवादी केन्द्रसंगको चुनावी तालमेलका कारण नेपाललाई काठमाडौं २ मा चुनाव जित्न सहज हुने एमालेका कतिपय नेताको विश्लेषण छ ।
अर्का बरिष्ठ नेता झलनाथ खलान गृहजिल्ला इलाम १ बाट चुनाव लड्ने पक्का भएको छ । पूर्वसभामुख सुवास नेम्वाङ इलाम २ बाट चुनाव लड्ने पक्का भएको उम्मेदवार छनौट कार्यदलका एक सदस्यले जानकारी दिए । नेम्वाङ संविधान सभाका दुइवटै चुनावमा इलामबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
महासचिव इश्वर पोखरेल भने काठमाडौं ५ बाटै चुनाव लड्ने पक्का भएको छ । काठमाडौं ३ मा कृष्ण राई, काठमाडौं ४ मा राजन भट्टराई र ७ मा रामबीर मानन्धर उठ्ने लगभग पक्का भएको छ ।
उपाध्यक्ष बामदेव गौतमले बर्दिया १ बाट चुनाव लड्ने पक्का भएको छ भने अर्का उपाध्यक्ष भीम रावल अछाम १ बाट चुनाव लड्ने भएका छन् । उपाध्यक्ष द्वय गत संविधानसभा चुनावमा सोही स्थानवाट विजयी भएका थिए ।
उपमहासचिव घनश्याम भुसाल रुपन्देही १ तथा अर्का उपमहासचिव विष्णु पौडेल रुपन्देही २ बाट चुनाव लड्ने भएका छन् । संविधानसभाका दुइवटै चुनावका प्रत्यक्ष निर्वाचित पौडेलले गत चुनावमा तत्कालिन माओवादी नेता डा बाबुराम भट्टराइलाई पराजीत गरेका थिए । भुसाल भने कांग्रेसका बालकृष्ण खाडसंग झिनो मतले पराजीत भएका थिए । कांग्रेस नेता खाण यसपटक समानुपातिकको सूचीमा परेका छन् ।
सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट क्रमश गुल्मी १ र २ बाट चुनाव लड्ने भएका छन भने, नेता सुरेन्द्र पाण्डे चितवन १ बाट चुनाव लड्ने भएका छन् । युवा नेता रवीन्द्र अधिकारी कास्की २ बाट चुनाव लड्ने पक्का भएको छ । संविधान सभाका दुइवटै चुनावमा अधिकारी विजयी भएका थिए ।
लालबावु पण्डित मोरङ ६ बाट चुनाव लड्ने भएका छन् । एमालेले नेपाली प्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई ललितपुर १ बाट उम्मेदवार बनाएको छ । युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत भक्तपुर २ बाट उम्मेदवार बन्ने तय भएको छ ।
आइतवार बस्ने एमाले स्थायी समितिको बैठकले उम्मेदवारको औपचारिक निर्णय गर्नेछ । टिकट पाएकाहरुलाई अध्यक्ष ओलीले हस्ताक्षर गरेर पत्र दिने एमालेको तयारी छ ।