
काठमाडौं। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन: विभाजित भएको छ।
पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी (वर्षा) ,हरिब खाँ (विशाल) क.शिलु न्याैपाने (रोशी), सुनिता बुढाथाेकीलगायतका नेताले एक विज्ञप्ति निकाल्दै पार्टी विभाजन भएको घोषणा गरेका हुन्।
पुराना नेताहरूले युवा नेताहरूकाे चाहाना नबुझ्नु पार्टी संगठनलाइ बछुवाकाे गतिमा अगाडि बढाउनु र युवाहरूलाइ नेतृत्व दिन नचाहानु पनि पार्टी फुट्काे प्रमुख कारण भएको उनीहरुको भनाइ छ ।
कार्यक्रम र कार्यदिशाहरुको वैज्ञानिक संश्लेषण, एकताबद्ध र जुझारु कम्युनिस्ट पार्टी निर्माण एवं कम्युनिस्ट पार्टीको नेतृत्व तथा सर्वहारा वर्ग र उत्पीडित समुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी कार्यभार सहित स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनाको कार्यभार रहेकाे प्रेस वक्तव्यमा उल्लेख गरिएकाे छ। निरन्तर क्रान्तिको सिद्धान्त अनुरुप सर्वहारा वर्गको अधिनायकत्वमा साम्यवादमा पुग्ने लक्ष्य रहेको बताइएकाे छ।
त्यस्तै गम्भीर र संकटपूर्ण अवस्थाबाट पार्टी जीवनको रक्षा एवं एकता महाधिवेशनका ऐतिहासिक कार्यभारहरु सम्पन्न गर्नका निम्ति मोहन वैद्य (किरण) पक्षको जारी बैठक स्थगन गरी नयाँ आधारमा नयाँ सहमतिद्वारा पार्टीलाई एकताबद्ध गर्न हामीले घनिभूत प्रयत्नहरु गरेपनि सफल नभएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।
परन्तु पार्टीको मूल नेतृत्वले आन्तरिक पार्टी जनवाद र अधिकारहरु कुण्ठित गरेर कथित सहमतिको आवरणमा विकल्प राजनीतिक प्रस्ताव र हाम्रा असल प्रयत्नहरु विरुद्ध चक्रव्यूहको रचना गरी नोकरशाही केन्द्रीयताद्वारा निषेध गर्ने दुस्साहस गरिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।