
नेपाल क्रिकेट टोलीले भारतको बैंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता लामो प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय क्रिकेट बोर्डको सहजीकरणमा यो अवसर प्राप्त भएको जनाएको छ ।
क्यानले यस पहलको नेतृत्व गरेकोमा भारतीय क्रिकेट बोर्डका सचिव जय शाह र सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ ।
क्यानले यस साझेदारीसँगै भविष्यमा क्रिकेट भ्रमणहरू हुने विश्वास पनि लिएको छ । साथै नेपाललाई क्रिकेट राष्ट्रको रूपमा विकास गर्ने अवसरहरू प्रदान हुने पनि क्यानको धारणा छ ।
नेपाली क्रिकेट टिम भारत प्रस्थान गरिसकेको छ । एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको अन्तिम तयारी गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको हो।
नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक शृंखला खेल्ने छ। नेपालको लिग–२ मा यो दोस्रो शृंखला हो।