
सरकारले कर्मचारीको तलब वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा कर्मचारीको तलबमान समायोजन गर्ने सम्बन्धमा प्रस्ताव पेस भएसँगै ठोस निर्णय गर्नुअघि अर्थ मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन जिम्मेवारी दिइएको छ ।
कृषिमन्त्री रामनाथ अधिकारीले तलबमान निकासा गर्नका लागि अर्थ मन्त्रालयलाई आवश्यक सबै खाका पेस गर्न भनिएको बैठकपछि जानकारी दिए ।
त्यसबाहेक केही सामान्य नियुक्तिबाहेक अरू सुन्न र भन्न लायकको अरू कुनै निर्णय नभएको उनले बताए ।
केही अघि सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । यससँगै राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका सरकारी कर्मचारीको तलब बढाउनुपर्ने बाध्यता सरकारसामु छ ।