२६ जेठ २०८३, मंगलबार

कैलालीका केही सामुदायिक विद्यालयमा कक्षा ४ माथिको मात्र परीक्षा

साउन २९, २०८१
कैलाली
कैलालीका केही सामुदायिक विद्यालयमा कक्षा ४ माथिको मात्र परीक्षा

कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्यांकन लागु गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ । 

टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली लागु गरेको हो । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्यांकनका आधारमा मूल्यांकन गरिने शिक्षा अधिकृत नरेश अवस्थीले बताए । 

'अब हामी ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्यांकनका आधारमा उहाँहरूको नतिजा आउनेछ,' उनले भने, 'साना नानीबाबुको केही समयको परीक्षाले मूल्यांकन हुँदैन ।' 

जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्यांकनलाई कडाइका साथ लागु गर्ने जनाएको छ । 'हामीले पनि कक्षा ३ सम्म प्रश्नपत्र बनाउन छाडेका छौँ,' शिक्षा अधिकृत सङ्ग्रामसिंह धामीले भने, 'शैक्षिक सुधार, गुणस्तर वृद्धिमा ध्यान दिइरहेका छौँ ।'

शिक्षा अधिकृत धामी कुनै विद्यालयले विद्यार्थीको क्षमता बढाउन प्रश्नपत्रको आधारमा परीक्षा लिए पनि त्यसलाई नतिजाको आधार नबनाइने बताउँछन् । 'परीक्षा अन्य प्रयोजनका लागि विद्यालयले लिन सक्नेछन्,' उनले भने, 'परीक्षा त मासिक, साप्ताहिक परीक्षण हुनेछ । तर, कक्षामा लिइएको परीक्षा नतिजामा समावेश हुने छैन ।'

जानकी गाउँपालिकाले पनि यसै वर्षदेखि निरतनर मूल्यांकन  शतप्रतिशत लागु गर्ने र अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा पनि कक्षा १ देखि ३ मा प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडी बताए । 'विद्यालयलाई निरन्तर विद्यार्थी मूल्यांकनका लागि पुस्तिका उपलब्ध गराएका छौँ, पुस्तिकामा भएको मापदण्डअनुसार मूल्यांकन हुनेछ,' उनले भने, 'त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुन्छ । कतिपय विद्यालयले विद्यार्थी व्यस्त राख्न परीक्षा गरेको देखिन्छ । तर यो आन्तरिक प्रयास मात्र हो ।'

टीकापुर, जोशीपुर र जानकीले जस्तै लम्कीचुहा नगरपालिकाले पनि यस वर्षबाट कडाइका साथ निरन्तर मूल्यांकनलाई जोड दिएको छ । गत वर्षबाट लागु गर्ने प्रयास गरे पनि सफल नभएको र यस वर्षबाट भने लागु गरिसकेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताए । 

'राष्ट्रिय पाठ्यक्रम प्रारुपमा भएको व्यवस्थाअनुसार हामीले गत वर्ष पूर्णरूपमा सबै विद्यालयमा लागू गर्न सकेका थिएनौँ, यस वर्ष सबैमा लागु भएको छ,' न्यौपानेले भने, 'अब कक्षा ४ माथिको मात्र परीक्षा हुन्छ । निरन्तर मूल्यांकनले शिक्षकलाई पनि जिम्मेवार बनाउँछ ।' रासस

salt training

कमेन्ट गर्नुहोस्