३० असार २०८३, मंगलबार

थाइल्यान्डको अदालतद्वारा प्रधानमन्त्री बर्खास्त

साउन ३०, २०८१
काठमाडौं
थाइल्यान्डको अदालतद्वारा प्रधानमन्त्री बर्खास्त
प्रधानमन्त्रीबाट बर्खास्त भएपछि पत्रकारसँग कुरा गर्दै स्रेथा थभिसिन ।

थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री स्रेथा थभिसिनलाई बर्खास्त गरेको छ ।

पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोगबारे बुधवार फैसला गर्दै अदालतले थाइल्यान्डका प्रधानमन्त्री थभिसिनलाई जिम्मेवारीबाट मुक्त गरेको हो । 

थभिसिनमाथि जेल बसेका एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोप लागको थियो ।

फेउ थाई पार्टीका नेतासमेत रहेका ६७ वर्षीय थभिसिनले पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । 

‘म अदालतको फैसलाको सम्मान गर्छु । म लगभग एक वर्षदेखि प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेको छु । मैले इमानदारीका साथ देशको नेतृत्व गर्ने प्रयास गरेको छु,’ संवैधानिक अदालतको फैसलापछि उनले आफ्नो कार्यालय बाहिर पत्रकारहरूसँग भने ।

यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता पिता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण थभिसिनमाथि नैतिकताको नियम उल्लङ्घन गरेको अभियोग लगाइएको हो । 

पिचितलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा ६ महिनाको जेल सजाय सुनाइएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्