
नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् ।
पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताएका हुन् ।
'शिक्षा, प्रतिरक्षा, बैंकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्,' पाकिस्तानी राजदूतले भने।
पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका खातिर पाकिस्तानले योगदान गरिरहेको बताए ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सीपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।