२३ असार २०८३, मंगलबार

बिकेन जेलजीवन बिताइरहेकी सुकीको घर, राखियो दोस्रो पटक लिलामीमा

साउन ३२, २०८१
काठमाडौं
बिकेन जेलजीवन बिताइरहेकी सुकीको घर, राखियो दोस्रो पटक लिलामीमा

जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखिएको लेकसाइडस्थित घर बिहीवार दोस्रो पटक लिलामीका लागि राखिएको छ ।

सन् २०२१ को सैन्य ‘कू’पछि हिरासतमा लिइएकी नोबेल पुरस्कार विजेता सुकी र उनका भाइबीच दशकौं लामो विवादपछि दुई तले घर र १.९ एकड जमिन बिक्रीका लागि राखिएको थियो ।

लिलामीका लागि न्यूनतम ३०० अर्ब क्याट (१४ करोड अमेरिकी डलर) तोकिएको थियो । 

जग्गा किनबेचको काम गर्ने एक स्थानीय बिचौलियाले मार्चमा एएफपीलाई बताएअनुसार याङ्गुन आसपासका क्षेत्रमा पनि यो जमिन र यस्तै आकारका घरको मूल्य १० देखि २० लाख अमेरिकी डलरभित्र पाइन्छ ।

लिलामीअघि म्यान्मारका लागि अमेरिकी दूतावासनजिकै युनिभर्सिटी एभिन्यूमा रहेको औपनिवेशिक कालको घरबाहिर पत्रकारको सानो भीड जम्मा भएको थियो । 

null

गेटमाथि सुकीका पिता, स्वतन्त्रताका नायक आङ सानको चित्र राखिएको छ भने घरलाई सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । 

स्थानीय अदालतले ढोकामा टाँसेको सूचनामा घर, घरभित्र रहेको सम्पत्ति र जग्गा सुकीकी आमा ‘दाउ खिन की’को नाममा रहेको उल्लेख छ । 

सन् १९८८ मा तत्कालीन जुन्ताविरुद्ध भएको विशाल प्रदर्शनका क्रममा सुकीलाई गोली हानेपछि सेनाले करिब १५ वर्षसम्म घरको भत्किएको पर्खालभित्र थुनेर राखेको थियो ।

इङ्गल्यान्डमा आफ्ना पति र छोराछोरीबाट अलग्गिएकी सुकीले घरमा पियानो बजाउँदै, जासुसी उपन्यास पढ्दै र ध्यान गर्दै घरमा समय बिताएकी थिइन् । 

प्रजातन्त्र र अहिंसाको माध्यमबाट सैन्य शासनविरुद्ध लड्ने उनको भाषण सुन्न सयौँ मानिस नियमित रूपमा घरबाहिरको फुटपाथमा भेला हुने गर्थे ।

सन् २०१० मा रिहा भएपछि पनि उनले त्यही घरमा बसी विदेशी नेता, पत्रकार र कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेकी थिइन् ।

null

सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुकीको घरको अवलोकन गरेका थिए । ओबामाले सुकीलाई ‘लोकतन्त्रकी प्रतीक’को संज्ञा दिएका थिए । 

सुकीले सन् २०१२ मा याङ्गुन छोडेकी थिइन् र सेनासँग सत्ता साझेदारी गर्दै राजधानी न्यापित गएकी थिइन् । 

सन् २०२१ को फेब्रुअरी १ मा सेनाले पुनः सत्ता कब्जा गरेपछि उनलाई हिरासतमा लिइएको थियो र १० वर्ष लामो प्रजातन्त्रको प्रयोग अन्त्य गरेको थियो ।

सुकीको गिरफ्तारीले दक्षिणपूर्वी एसियाली राष्ट्र म्यान्मारमा रक्तपातपूर्ण उथलपुथल निम्त्याएको छ भने निर्वाचित सरकारको सट्टा सेनाप्रति बफादार (जुन्टा सरकार)ले सत्ता चलाइरहेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्