
५० जना अभियन्ताहरूले जलवायु परिवर्तनको जोखिम कम गर्दै चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियानको घोषणा गरेका छन् ।
उनीहरूले आज काठमाडौं आयोजित एक कार्यक्रमका बीच कार्बन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग कम गर्ने, सामानको पुनः प्रयोग गर्ने, वातावरण जोगाउन जनचेतना लगाउनेलगायत छन् ।
वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नयाँ अभियानको थालनी गरिएको हो ।
साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने जानकारी दिइन् । 'हरित तीजका लागि महिलाले परिवर्तनको नेतृत्व गरिरहेका छन्,' उनले भनिन्, 'साथसाथैले नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिङ द चेन्ज’ कार्यक्रम शुरू गरेको हो ।'

५० जना अभियन्ताहरूमा भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, श्रीच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहेका छन् ।
त्यस्तै कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, विमला तुम्खेवा, बिनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत छन् ।
अभियन्ताहरू राजनीति, शिक्षा, स्वास्थ्य, कानून, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रमा क्रियाशील छन् ।
साथसाथैले विगत तीन वर्षदेखि वातावरण एवं जलवायु न्यायका लागि क्रियाशील रही जलवायु परिवर्तनको असर र त्यसका न्यूनीकरणका लागि विभिन्न प्रदेशमा पुगी रचनात्मक काम गर्दै आइरहेको छ ।
संस्थाले वर्षभरि नै विभिन्न सांस्कृतिक पर्वलाई वातावरणीय दृष्टिले हरितमैत्री बनाउन विभिन्न कार्यक्रम तय गरेको छ ।
त्यसमा यस्ता पर्वलाई हरितमैत्री बनाउन सामानको पुनः प्रयोग गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, चाडपर्वलाई वातावरणमैत्री बनाउनेलगायत छन् ।
अभियान घोषणा कार्यक्रममा अभिनेत्री रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायु परिवर्तनको जोखिम नियन्त्रण गर्न जागरूक हुनुपर्नेमा जोड दिइन् ।
'प्रकृतिलाई बचाउनुपर्छ भनेको आमालाई बचाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । यो कार्यक्रमलाई दूरदराजमा लैजानुपर्छ,' उनले भनिन् ।