२३ असार २०८३, मंगलबार

पहिरोले धानखेत बगाएपछि किसान चिन्तित

भदौ १, २०८१
खोटाङ
पहिरोले धानखेत बगाएपछि किसान चिन्तित

पहिरोले धानबालीसहित खेत बगाएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।  

पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५/१५ रोपनी खेत पुरेको छ । बर्सेनि १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताए । उनको खेतको सिरानदेखि पहिरो गएको छ । 

'पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ,' उनले भने, '६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।'

पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ । पहिरोका कारण उनको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।  

वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन् ।

salt training

कमेन्ट गर्नुहोस्