
परराष्ट्रमन्त्री डा आरजु राणाको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझै अगाडि बढाउन मद्दत पुग्ने भारतीय विदेश मन्त्रालयले आशा व्यक्त गरेको छ । परराष्ट्रमन्त्री राणाले आइतवार गर्न लागेको भारत भ्रमणबारे शनिवार जानकारी दिँदै मन्त्रालयले यस्तो आशा व्यक्त गरेको हो ।
विदेश मन्त्रालयले ‘छिमेकी पहिलो’ नीतिमा नेपाल भारतको ‘प्रायोरिटी पार्टनर’ रहेको जनाएको छ ।
‘नेपालकी परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै हुन लागेको हो । छिमेकी पहिलो नीतिमा नेपाल भारतको प्रायोरिटी पार्टनर हो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगमा भएको प्रगतिबारे छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्नेछ । साथै हाम्रो सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत गर्ने विश्वास छ ।’
परराष्ट्रमन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमणका क्रममा आइतवार राजधानी नयाँ दिल्ली जाँदैछिन् ।
उनी भारतीय विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा भारत जान लागेकी हुन् ।
जयशङ्करसँगको भेटवार्ता उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन तथा सहकार्य प्रवर्द्धन गर्नका लागि आपसी चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृतसमेत गरिसकेको छ ।
परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
गत साउन २७ गते मात्रै भारतका विदेश सचिव विक्रम मिश्रीले नेपालको भ्रमण गरेका थिए ।