
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले भएको विवाद र बहसले पार्टीलाई झनै एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।
माओवादी केन्द्र काठमाडौं–रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
सो अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उपमहासचिव जनार्दन शर्मा प्रभाकरले उठाएका विषयलाई आफूले नकारात्मक हिसाबले नलिएको स्पष्ट पारे । यो कुरालाई गहिरोसँग आत्मसात गर्न पनि उनले शर्मालाई आग्रह गरे ।
शर्माको आलोचनालाई पार्टीले स्वीकारेकाले अब उनले ममाथि अत्याचारका अत्याचार भयो भनिराख्न जरुरी नभएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
‘तपाईंले बहस गरेर राम्रो भयो । तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्वीकार्दैनथ्यो,’ कार्यक्रमस्थलमै रहेका शर्माप्रति लक्षित गर्दै उनले भने, ‘यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात गर्नुपर्छ । त्यसैले अब पनि तपाईंले ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन ।’
प्रचण्डले पार्टीको स्थायी कमिटीको बैठकपछि पार्टी फुट्दैछ भन्ने मान्यतालाई खारेज गरेको जिकिर पनि गरे । शर्माले उठाएका विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने उनले आश्वासनसमेत दिए ।
साउन २५ गतेको बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी निर्माणको नयाँ कार्यभार’सम्बन्धी मौखिक प्रस्ताव पेश गरेका थिए । तर अध्यक्षको प्रस्तावमा असहमति जनाउँदै शर्माले १४ पृष्ठ लामो पूरक प्रस्ताव पेश गरेका थिए । जुन प्रस्ताव तल्लो तहसम्म छलफलका लागि लैजानुपर्ने अडान उनको थियो । प्रचण्ड पनि प्रदेशस्तरीय छलफलमा यसबारे छलफल चलाउन सहमत भएका थिए ।