
थाइल्यान्डका राजाले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई शनिवार आममाफी दिएका छन् ।
राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री थाक्सिन पनि एक हन् ।
१५ वर्षको आत्मनिर्वासनपछि झण्डै एक वर्षअघि स्वदेश फर्केपछि थाक्सिनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो ।
राजा वजिरालोङकोर्नले उनको सजाय कटौती गरी एक वर्षमा सीमित गरिदिएका थिए । उमेर र खराब स्वास्थ्यको कारण उनलाई आवश्यक परेको समय उपस्थित हुने शर्त (प्यारोल)मा रिहा गरिएको थियो ।
थाक्सिनका वकिल चाटमोन्ट्रीले सरकारी राजपत्रमा आममाफीको घोषणा गरिएको र आममाफी पाउने हजारौँ व्यक्तिमध्ये दुई पटक प्रधानमन्त्री भइसकेका उनी पनि रहेको बताए ।
‘शाही घोषणाबाट माफी पाउने हजारौँ थाइमध्ये पूर्वप्रधानमन्त्री थाक्सिन एक व्यक्ति रहनुभएको छ,’ उनले आफ्नो व्यक्तिगत फेसबूक अकाउन्टमा लेखेका छन्, ‘उहाँलाई जेलमुक्त गरिएको कागजात आवश्यक कानूनी प्रक्रियापछि छिट्टै प्राप्त गर्नुहुनेछ ।’
शनिवार प्रकाशित शाही राजपत्रमा भनिएको छ, ‘राजाले ती माफी पाएका सबैजनालाई आफूलाई सुधार्ने र देशलाई फाइदा पुर्याउने अवसर दिनुभएको छ ।’
राजा वजिरालोङकोर्नले जुलाईको अन्त्यमा आफ्नो ७२ औं जन्मदिन मनाएको करिब एक महिनापछि असल आचरण भएका कैदीहरूलाई माफी दिइएको हो ।
यसअघिको शाही आदेश अनुसार पूर्वप्रधानमन्त्री थाक्सिन ३१ अगस्टमा रिहा हुनुपर्ने थियो ।
थाई संसद्ले शुक्रवार थाक्सिनकी ३७ वर्षीया छोरी पाएटोङ्तार्न सिनावात्रालाई प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो ।
उनी थाइल्यान्डको इतिहासकै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी छिन् । उनी आफ्ना बुवा थाक्सिन र फुपू यिङलकपछि यो पद सम्हाल्ने सिनावात्रा परिवारकी तेस्रो सदस्य हुन् ।
देशको संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रेता थाभिसिनलाई बर्खास्त गरेपछि पाएटोङ्तार्नलाई प्रधानमन्त्री बनाइएको हो ।