भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही अर्थात् गाईजात्रा (सापारु) पर्वलाई शान्तिपूर्ण रूपमा मनाउन सापारु प्रदक्षिणा मार्गको सफाइ अभियान शुरू गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुरको खौमाबाट शरू भएको सफाइ र्याली दत्तात्रयमा पुगेर सभामा परिणत भएको थियो ।
त्यस अवसरमा नगरप्रमुख प्रजापतिले गाईजात्रा पर्व भव्य रूपमा मनाउन आग्रह गरे । उनले इन्टरनेट तथा केबल नेटवर्क एवं सेवा प्रदायकहरूलाई लत्रिएका तार व्यवस्थित गर्न आग्रह गरे ।
गाईजात्रा पर्वमा यहाँ विभिन्न नाच प्रदर्शन गर्ने गरिन्छन् । नगरपालिकाले परम्परागत तथा आधुनिक विधाका रूपमा ती नाचको मूल्याङ्कन गरी पुरस्कार दिँदै आएको छ ।
यसैगरी नगरले यहाँका मूर्त एवं अमूर्त सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको छ ।
नगर उपप्रमुख जोशीले भूकम्पले क्षति भएका अधिकांश सम्पदा पुनःनिर्माण भइसकेका र केही योजना चालु अवस्थामा रहेको बताइन् ।
विभिन्न विद्यालयका विद्यार्थीसमेतको सहभागिता रहेको सरसफाइ कार्यक्रमामा सन्देशमूलक नारा लेखिएका प्लेकार्डसहित नगर परिक्रमा गरिएको थियो ।