
वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महंगी ३.५७ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को असार महिनासम्म मुद्रास्फीति ७.५७ प्रतिशतबाट ३.५७ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपोर्टले देखाएको हो ।
राष्ट्र बैंकका अनुसार २०८१ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ ।
जुन गत २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मर-मसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरूको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरूको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ ।
साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरू उप-समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।