
नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीका नेता तथा कार्यकर्तालाई फेसबूक र अन्य सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध लेख्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
शनिबार विराटनगरमा सम्पन्न चौथो पूर्ण बैठकले १३ बुँदे आचारसंहिता जारी गर्दै पार्टीभित्रको गोपनीयता भंग हुने खालका गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो।
बैठकले पारित गरेको आचारसंहितामा पार्टीको नीति, विधि, विधान, पद्धति र संस्थागत प्रणालीको पालनामा जोड दिइएको छ।
यसका साथै, नेताहरूलाई सार्वजनिक स्थलमा अनधिकृत रूपमा बोल्न नदिने, गुटबन्दीपूर्ण गतिविधिमा संलग्न नहुन र कुनै पनि अन्तरविरोधमा नेताहरूलाई मुछ्न नहुने उल्लेख गरिएको छ।
कोशी प्रदेशमा पार्टीको अधिवेशनदेखि नै दुई समूह बनेका छन्, जसमा फरक मत राखेको भन्दै प्रदेश कमिटी अध्यक्षका पराजित उम्मेदवार विनोद ढकाललाई लक्षित गरी यो निर्णय गरिएको नेताहरूले बताएका छन्।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले 'मिसन ८४' पूरा गर्न प्रदेशबाट जिल्ला, पालिका, टोल हुँदै जनताको घरसम्म पुग्ने योजना रहेको जानकारी दिए।
प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले मोरङ, इलाम, र तेह्रथुम जिल्लाको अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको बताए।