१५ असार २०८३, सोमबार

कर्णालीमा आइतबार बिहानैदेखि विद्युत् अवरुद्ध, सञ्चार सेवा प्रभावित

भदौ ३, २०८१
सुर्खेत
कर्णालीमा आइतबार बिहानैदेखि विद्युत् अवरुद्ध, सञ्चार सेवा प्रभावित
फाइल फोटो

आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन ।

कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्‌विहीन बनेको हो ।

विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रुख ढलेर विद्युत्‌को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब छवटा खम्बाको तारमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।​​

जङ्गलबीचमा रुख ढलेकाले प्राधिकरणका कर्मचारी आइतबार बिहानदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडे पनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको छ ।

विद्युत्‌सँगै इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ । त्यसका कारण फोन सम्पर्क गर्नसमेत कठिनाइ हुन्छ ।

कर्णालीमा आइतबार बिहानदेखि ठूलो वर्षासमेत भइरहेको छ । मर्मत कार्य जारी रहे पनि हालसम्म विद्युत् सेवा सञ्चालन भएको छैन ।

विद्युत् नहुँदा कर्णालीका जाजरकोट, सुर्खेत, रुकुम पश्चिमका केही भाग, सल्यानका केही भाग, कालीकोट, जुम्ला, मुगु र दैलेखमा विद्युत् सेवा ठप्प भएको छ ।

कर्णालीबाट प्रकाशित हुने पत्रपत्रिकादेखि रेडियोको प्रकाशन तथा प्रशारणमा समेत अवरोध आएको भेरी मालिका दैनिक जाजरकोटका कार्यकारी सम्पादक रेशमबहादुर खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्