
नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापारबारे छलफल भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौताबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री देउवा र समकक्षी एस जयशंकरबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनबारे पनि छलफल भएको हो । 'नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिबारे कुरा गर्नुभएको थियो,' विदेश मन्त्रालयले भनेको छ ।
उनीहरूले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनामा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरूबारे पनि छलफल गरेका थिए ।
आइतबार भारत भ्रमणमा गएकी परराष्ट्र मन्त्री देउवाले सोमबार समकक्षी जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी थिइन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । सोमबार साँझ भारतको नयाँ दिल्ल्लीमा भएको भेटवार्ताका क्रममा उनले मोदीलाई नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेकी हुन् ।