काठमाडौँ, मङ्सिर २५ - हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ । विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको आजको गोरखापत्र दैनिकमा खबर छ । पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गर्मीको मौसममा दिउँसो र चिसोमा राति चोरीका घटना बढी हुने गर्छन् ।
महाशाखा चोरी शाखा प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बस्नेत भन्नुहुन्छ, सर्वसाधारणको कमजोरी कारण चिसोमा चोरी बढी हुन्छ । चिसोमा न्यानोभित्र गुटमुटिन हतार गर्ने भएकाले झ्यालढोका राम्रोसँग नलगाउँदा यस्तो समस्या आउने गरेको हो ।