२७ असार २०८३, शनिबार

लाखेनाच संरक्षणमा जुटे गाईघाटका नेवार समुदाय

भदौ ४, २०८१
उदयपुर
लाखेनाच संरक्षणमा जुटे गाईघाटका नेवार समुदाय
फाइल फोटो

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदाय परम्परागत लाखे नाच संरक्षणमा जुटेका छन् ।

सोमबार ऋषितर्पनी पूर्णिमाको दिनदेखि सदरमुकाम गाईघाट बजारमा नेवार समुदायले संयुक्त रुपमा लाखे नाच शुरू गरेका हुन् ।​

नेवा झिगुँ पुच उदयपुरका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठका अनुसार सोमबारदेखि त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले संयुक्त रूपमा लाखे नाच शुरू गरेका हुन् ।

त्रियुगा नगरपालिकाको गाईघाट बजार, बोक्से, राजाबास, चुहाडे, बगाहा, देउरी, जोगीदह, मोथ्याई, असारी, भातीखर्कसहित पुराना गाईघाट क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले आठ वटा लाखे तयार गरेर संयुक्त रूपमा नाच्न शुरू गरेको नेवा झिगु पुचका जिल्ला सचिव गोपाल श्रेष्ठले जानकारी दिए ।​​

ऋषितर्पनी पूर्णिमाको दिनदेखि शुरू लाखे नाच कृष्ण अष्‍टमीको दिन सम्पन्न हुने नेवा झिगु पुचले जनाएको छ ।

गाईघाटका ८७ वर्षीय रत्न श्रेष्ठले भने, 'बाबु, बाजेको पालादेखि नाचिँदै आएको लाखे नाच संरक्षण गर्न र मौलिक संस्कृति संरक्षण गर्न बर्सेनि नेवार जातिले नाच्दै आएका छौं ।' 

पूर्खाहरू पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभा, रामेछाप, काठमाडौं र काभ्रेबाट बसाइ सरी आएको र तराई आएपछि लाखे नाच संरक्षण गर्न बर्सेनि नाच्ने गरिएको नेवा देय दबु गाईघाटका अध्यक्ष हरि श्रेष्ठ बताउँछन् ।

लाखे लोप हुने अवस्थामा पुगेको र यसको संरक्षण गर्नुपर्ने स्थानीय भागवत श्रेष्ठले बताए ।

युवापुस्तामा पाश्चात्य संस्कृतिको प्रभाव परेको कारण लाखे नाच लोप हुने अवस्थामा पुगेको झिगु नेवा पुचका कोषाध्यक्ष दिनेश श्रेष्ठको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्