
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् । पूर्वमुख्मन्त्री र नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा चढ्दै आएको लू१झ ७५३ नम्बरको गाडी गिरीले मंगलवार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरमार्फत फिर्ता गरेका हुन् ।
सो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा मातहत ल्याएको भएकाले प्रदेशसभामै फिर्ता गरेको नेता गिरीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए । गिरी लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो तीन महिना मुख्यमन्त्री बनेका थिए ।
एमाले संसदीय दलको नेताबाट गिरीलाई हटाएर एमालेले मुख्यमन्त्री चेतनारायण आचार्यलाई आइतबार दलको नेता बनाएको छ । निवर्तमान मुख्यमन्त्री र दलको नेताका रुपमा रहँदा कहिल्यै र कहीँकतैबाट पनि दोहोरो र कानूनविपरीत सुविधा नलिएको नेता गिरीले दाबी गरेका छन् ।
पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले भने आफूअनुकूल कानून बनाएर प्रदेश सरकारबाट लिएको गाडी अझै फिर्ता गरेका छैनन् ।