०१ असार २०८३, सोमबार

तनहुँ अदालतमा दुई वर्ष नाघेका मुद्दा शून्य

भदौ ४, २०८१
तनहुँ
तनहुँ अदालतमा दुई वर्ष नाघेका मुद्दा शून्य

 तनहुँ जिल्ला अदालतले दुई वर्ष म्याद नाघेका मुद्दा शून्यमा झारेको छ । जिल्ला अदालतमा दर्ता भएर लामो समयसम्म फैसला हुन नसकेका मुद्दाहरू छिटोछरितो न्याय सम्पादन गर्ने नीति अनुरुप दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारिएको हो । 

अदालतमा अब दुई वर्ष म्याद नाघेका कुनै पनि मुद्दा नरहेको जिल्ला श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अदालतमा हाल सात सय ३८ थान मुद्दा फर्छ्योट हुन बाँकी छ । त्यसमध्ये छ महिनाभित्रका पाँच सय नौ, छ महिनादेखि एक वर्षभित्रका एक सय ३५, एक वर्षदेखि १८ महिनाभित्रका ८९, १८ महिनादेखि दुई वर्षभित्रका पाँच थान मुद्दा फर्छ्योट हुन बाँकी छ । 

उनले भने, “पुराना मुद्दालाई टुङ्गो लगाउने नीति अनुरुप दुई वर्षमाथिका सबै मुद्दा फर्छ्योट भएका छन् । यो एउटा ऐतिहासिक सफलता हो ।” अदालतले आव २०८०/८१ मा दुई हजार २८ थान मुद्दा फर्छ्योट गरेको छ । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरिआएका एक हजार एक सय एक र नयाँ दर्ता एक हजार छ सय ६५ गरी कूल दुई हजार सात सय ६६ मुद्दा रहेका थिए । त्यसमध्ये दुई हजार २८ थान मुद्दा फर्छ्योट भइ सात सय ३८ थान मुद्दा बाँकी रहेको श्रेस्तेदार पौडेलले बताए । 

अदालतले अघिल्लो आव २०७९/८० मा एक हजार आठ सय २३ मुद्दा फर्छ्योट गरेको थियो । त्यस आवमा जिम्मेवारी सरी आएका एक हजार एक सय ३५ र नयाँ दर्ता एक हजार सात सय ८९ गरी कूल दुई हजार नौ सय २४ मुद्दा थियो । 

अदालतमा गत आर्थिक वर्षदेखि तीन न्यायाधीशको दरबन्दी कायम भएसँगै पुराना मुद्दालाई शून्यमा झार्ने नीति लिइएको जिल्ला न्यायाधीश कमलराज विष्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्