२८ जेठ २०८३, बिहीबार

माओवादीका सांसद दाहालमाथि पार्टीभित्रै आर्थिक अनियमितता गरेको आरोप

भदौ ४, २०८१
काठमाडौं
माओवादीका सांसद दाहालमाथि पार्टीभित्रै आर्थिक अनियमितता गरेको आरोप

सांसद तथा नेकपा (माओवादी केन्द्र)का तत्कालीन सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’माथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनीमाथि सिन्धुली जिल्ला पार्टी कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको आरोप लागेको हो ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दाहालले हालसम्म पनि निर्माणको आयव्यय विवरण नबुझाएकाले जिल्ला इन्चार्ज बुद्धिमान माझी ‘वसन्त’को अध्यक्षतामा सिन्धुलीमाडीमा बसेको बैठकले पार्टी कमिटीमा परिपत्र गरेको पाइएको छ । उक्त परिपत्र गत साउन १७ गते नै गरिएको भए पनि मंगलवार सार्वजनिक भएको हो ।

भवन निर्माणको करिब ४०–४५ लाख रुपैयाँ जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको आरोप दाहालमाथि लागेको छ । यसबारे दाहाललाई बारम्बार ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको परिपत्रमा उल्लेख गरिएको छ ।  

‘जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आयव्यय प्रस्तुत गर्न यसअघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य लेखनाथ दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो । भवन निर्माण कार्यक्रमको क्रममा पनि खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आयव्यय प्रस्तुत गर्न आग्रह गरियो, सुनुवाइ भएन,’ परिपत्रमा भनिएको छ, ‘गणेश रत्नको भनाइका आधारमा भवन निर्माणबाट बाँकी रकम करिब ४०–४५ लाख रुपैयाँ जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माणको आयव्यय पार्टी कमिटीलाई प्राप्त भएको छैन ।’


 

salt training

कमेन्ट गर्नुहोस्