
विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मंगलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।
गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।
'मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,' उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी गराएका हुन्, 'उहाँको सम्झना सधैं रहनेछ ।'
क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट शहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।
'मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस्। म जहाँ रहे पनि खुसी रहनेछु,' उनले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताएकी थिइन् ।
अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका हुनुहुन्छ । सन् १९०८ मे २३ मा जन्मनुभएका टोमिको हाल ११६ वर्षको हुनुहुन्छ । रासस