१७ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

विद्युतीय प्रणालीमार्फतको कारोबारमा बन्यो रेकर्ड, मुकुल ढकालमाथि थप कारबाहीको तयारी

भदौ ५, २०८१
काठमाडौं
विद्युतीय प्रणालीमार्फतको कारोबारमा बन्यो रेकर्ड, मुकुल ढकालमाथि थप कारबाहीको तयारी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
विद्युतीय प्रणालीमार्फत असार महिनामा इतिहासकै सर्वाधिक कारोबार भएको छ । आर्थिक वर्ष २०८०–८१ को अन्तिम महिना असारमा हालसम्मकै उच्च कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार असारमा मात्रै १३ करोड ७३ लाख ६४ हजार २८४ पटक विद्युतीय प्रणालीमार्फत लेनदेन हुँदा ८८ खर्ब ३३ अर्ब ९ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । जुन हालसम्मकै सर्वाधिक कारोबार हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री डा मुकुल ढकाललाई पार्टीका साधारण सदस्यसमेत नरहने गरी कारबाहीको तयारी गरेको छ । पार्टी हित विपरीत गतिविधि गरेको ठहर गर्दै उनलाई पार्टीबाटै निकाल्न लागिएको एक नेताले जानकारी दिए । 

यसअघि रास्वपाले उनलाई कारबाही गरेपनि साधारण सदस्य कायम थियो । रास्वपाको बुधबार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्रीको कारबाहीलगायतका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । रास्वपाले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ । 
००००
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयबागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि शुरु भएको हो ।
००००
भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको छ ।
मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।
००००
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३  र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
००००
सांसद तथा नेकपा (माओवादी केन्द्र)का तत्कालीन सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’माथि आर्थिक अनियमितताको आरोप लागेको छ । 
उनीमाथि सिन्धुली जिल्ला पार्टी कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको आरोप लागेको हो ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धलाई लिएर शंका नगर्न आग्रह गरेका छन् ।

कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कसैको दबाबमा नपरी सोचविचार गरेरै एमालेसँग सहकार्य गरेको स्पष्ट पारे ।
००००
परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणका लागि भारतलाई चुनेकी आरजु राणा देउवालाई भारतीय पक्षले उच्च प्राथमिकता दिएको देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै उच्च प्राथमिकता दिएर भेट गर्नु, भेटलगत्तै सामाजिक सञ्जालमा त्यसबारे चर्चा गर्नु, भेटवार्तामा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई पनि सामेल गर्नुले आरजुको भ्रमणलाई भारतले सिरियसली लिएको चर्चा कूटनीतिक वृत्तमा चलेको छ ।
००००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० मत परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्