मस्को– युक्रेनी सेनाले दुई साताअघि आक्रमण शुरू गरेको रुसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित भएको छ । रुसले उक्त क्षेत्रमा रहेका सातवटा नगरपालिकाको निर्वाचन स्थगित गर्ने घोषणा गरेको हो । रुसी निर्वाचन आयोगले बुधवार टेलिग्राममार्फत मतदान स्थगित गरिएको जानकारी गराएको छ ।
निर्वाचन आयोगले ‘मतदाताको सुरक्षाको पूर्ण प्रत्याभूति’ भएपछि त्यहाँ मतदान हुने बताएको छ । तर अर्को हप्तादेखि शुरू हुने क्षेत्रीय गभर्नरको निर्वाचन बाँकी क्षेत्रमा योजनाअनुसार नै हुने जनाइएको छ ।
पछिल्लो दुई हप्तामा युक्रेनले कुर्स्क क्षेत्रमा रुसविरूद्धको आफ्नो प्रत्याक्रमणलाई सुसङ्गठित गर्दै सहयोगी मुलुकबाट प्राप्त हतियारको बलमा आक्रमण शुरू गरेको छ । रुसले कुर्स्क क्षेत्रमा आक्रमणबाट नागरिकहरूको क्षति नहोस् भनी आफ्ना नागरिकलाई सुरक्षित स्थलमा सारिसकिएको जनाएको छ ।