
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका–१० झलारीको नहर टोलका दुईदर्जन बढी स्थानीय बासिन्दाको घरभित्र वर्षात्को पानी पसेको छ ।
पानीको निकास साँघुरो हुँदा वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पसेको हो । वर्षाको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाका लत्ताकपडा, खाद्यान्न, भाडाँकुडालगायत अन्य अत्यावश्यक सामग्रीमा क्षति पुगेको छ ।
स्थानीय भिमराज अवस्थीले वर्षात्को पानी घरभित्र पस्दा नवसिर्जना सहकारी संस्थाको भण्डारण गरेर राखिएको डिएपी, युरिया, पोटासलगायत मलमा निकै क्षति पुगेको बताए । उनले भने, “घरमा भाडामा बस्नेको खाद्यान्नदेखि लत्ताकपडालगायत सामग्रीमा क्षति पुगेको छ ।”
आँगनमा पानी भरिएकाले घरभित्र प्रवेश गर्न निकै समस्या भएको स्थानीय दीपेन्द्र भट्टले बताए । बस्तीको पानी बग्ने पूर्वपश्चिम राजमार्गमा बनाइएको कल्भर्ट साँधुरो र त्यसकै मुखमै सिँचाइ आयोजनाले ढलानको कार्य गरिदिएपछि पानी निकास हुन नपाएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी जवान, डिभिजन सडक कार्यालय, सिँचाइ आयोजनाका कर्मचारी र स्थानीय बासिन्दाले थुनिएको कल्भर्ट सफाइको कार्य गरेका छन् ।
साँधुरो कल्भर्टभित्रै नहरको संरचना निर्माण, टेलिफोनका केबुलका तारहरू र खानेपानीको पाइप छिराउने कार्यले समस्या भएको इप्रका झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाएरले बताए ।