
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको बसका यात्रुहरू भारतको महाराष्ट्रका रहेको पाइएको छ ।
उनीहरू पोखरा भ्रमण सकेर शुक्रबार काठमाडौंस्थित पशुपतिनाथको दर्शन गर्न हिँडेका थिए ।
बस गोरखपुरबाट छुटे पनि यात्रुहरू भने महाराष्ट्रका रहेको स्रोतले जानकारी दियो ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन थापाका अनुसार भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक सवार थिए ।
पोखरामा एक होटलमा बसेका उनीहरूले ४१ जनाको नाम टिपाएको जानकारी थापाले दिए । उनका अनुसार होटलमा टिपाएका सबै नाम भारतीय नागरिकको थियो ।
होटलमा उनीहरूले आफूहरू भैरहवा हुँदै पोखरा आएको र काठमाडौं पशुपतिनाथको दर्शन गरेर मात्रै स्वदेश फर्किने बताएका थिए ।
‘बस दुर्घटनाको खबर सुनेपछि खोजीनीति गर्दा अस्ति पाँच गतेदेखि पोखरामै होटलमा बसेको पाइयो,’ एसपी थापाले लोकान्तरसँग भने, ‘सबै जना गोरखपुरबाट तीर्थाटनका लागि नेपाल आएको थाहा हुन आएको छ ।’
प्रहरीका अनुसार उक्त बस शुक्रबार बिहान साढे सात बजे पोखराबाट काठमाडौंका लागि प्रस्थान गरेको थियो ।
सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा रहेका १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
घाइतेको उद्धारका लागि नेपाली सेनाले एमआई –१७ को हेलिकप्टर समेत घटनास्थलमा पठाएको छ ।
यसैबीच नेपालस्थित भारतीय दूतावासले बसमा ४३ जना (चालक र सहचालकसहित) रहेको जनाएको छ ।
दूतावासका प्रतिनिधि पनि घटनास्थल पुगेका छन् ।
सच्याइएको : यसअघि शीर्षमा अधिकांश यात्रु गोरखपुरका भएकोमा भारतीय दूतावास स्रोतले यात्रुहरू महाराष्ट्रका भएको जनाएकोले सच्याइएको छ ।
