
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।
सहकारी ठगी, दोहोरो पासपोर्टलगायतका विषयमा प्रमाण हुँदा पनि उनलाई पक्रन नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै बस्नेतले लामिछानेलाई पक्राउ गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।
‘लामिछानेले दोहोरो पासपोर्ट लिएका छन्, दोहोरो पासपोर्ट लिन मिल्छ ? उनलाई छुट दिने भए जनतालाई किन नदिने,’ राष्ट्रियसभाका सांसद समेत रहेका बस्नेतले भने ।
सहकारी ठगीमा पर्याप्त प्रमाण जम्मा भइसकेको भन्दै लामिछानेलाई थुन्न ढिला गर्न नहुने उनले बताए ।
बस्नेत तरुण दलका पूर्व अध्यक्ष हुन् ।
सहकारी ठगबारे छानबिनको माग उठेपछि कांग्रेस बैठकमा लामिछानेलाई पक्राउ गर्नुपर्ने आवाज यसअघि उठेको थिएन ।