
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगीबारे छानबिन संसदीय विशेष समितिमा बयान दिन पुगेका छन् । उनी शुक्रबार दिउँसो सवा ४ बजेको समयमा बयानका लागि पुगेका हुन् ।
गोरखा मिडिया नेटवर्कको निर्देशकको हैसियतमा लामिछानेसँग संसदीय छानबिन समितिले बयान लिन लागेको हो ।
लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र सञ्चालक रहेको समयमा विभिन्न सहकारीबाट ग्यालेक्सी टीभीमा लगानी भएको थियो ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायत सहकारीबाट रविको नाममा ऋण प्रवाह भएको थियो ।
रवि गृहमन्त्री रहेको समयमा कांग्रेसले सहकारी ठगीमा उनको संलग्नताबारे छानबिनको माग गरेपछि संसदीय समिति गठन भएको थियो ।
नेकपा एमालेका सांसद सूर्य थापा संयोजकत्वको समितिले शुक्रबार नै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडेसँग सोधपुछ गरेको थियो ।
उनीसँग समितिले करिब छ घण्टा सोधपुछ गरेको थियो ।
सहकारी ठगीमा फरार जीबी राईका पार्टनर रहेका जोशीको घरबाट प्रहरीले विभिन्न सहकारीको हिसाब रहेको सर्भर बरामद गरेको थियो ।