
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा दुरुपयोग गरिएको बारे संसदीय विशेष समितिले मिडियाका तत्कालीन सञ्चालकसँग सोधपुछ गरेको छ ।
संसदीय विशेष समितिले शुक्रबार गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी बन्जाडेसँग झण्डै ५ घण्टा बयान लिएको छ ।
शुक्रबार बिहान ११ बजेदेखि झण्डै ४ बजेसम्म जोशीको बयान चलेको थियो ।
जोशीको बयान लम्बिएपछि २ बजेका लागि बोलाइएका रवि लामिछानेको बयान अपरान्ह सवा ४ बजेमात्र शुरू भएको छ । ‘बयान कति लामो चल्छ ?' भन्ने पत्रकारको प्रश्नमा समिति सभापति सूर्य थापाले हतार नगरी छलफल गरिने बताए ।
गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा रविसँग संसदीय छानबिन समितिले बयान लिन लागेको हो ।
लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र सञ्चालक रहेको समयमा विभिन्न सहकारीबाट ग्यालेक्सी टीभीमा लगानी भएको थियो ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायत सहकारीबाट रविको नाममा ऋण प्रवाह भएको थियो ।
रवि गृहमन्त्री रहेको समयमा कांग्रेसले सहकारी ठगीमा उनको संलग्नताबारे छानबिनको माग गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।
संसदीय समितिमा बयान दिन जाने रवि हाइ प्रोफाइल व्यक्ति हुन् ।