
बर्लिन– जर्मनीको पश्चिमी शहर सोलिङ्गेनमा शुक्रवार भएको छुरा आक्रमणको अझै अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले शनिवा अपराह्न आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
आक्रमणमा आतङ्कवादी उद्देश्य रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
प्रहरीले शनिवार एक जनालाई नियन्त्रणमा लिएको र उनी आक्रमणसँग सम्बन्धित छन् वा छैनन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेमा १५ वर्षीय किशोर रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
शहरस्थापनाको ६५० औँ वर्षगाँठको अवसरमा शुक्रवार साँझ आयोजित कार्यक्रममा भएको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो भने आठ घाइते भएका थिए । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।
जर्मन पत्रिका बिल्डका अनुसार पक्राउ परेका व्यक्तिको उपस्थिति आक्रमणकारीबारे घटनास्थलमा प्रत्यक्षदर्शीले दिएको विवरणसँग मेल खाँदैन ।