
चितवनका व्यवसायीले नारायणगढ बजार २४सै घण्टा खुला गर्न माग गरेका छन् ।
शनिबार नारायणगढमा सम्पन्न होटल व्यवसायी सङ्घ चितवनको २८औं साधारणसभामा व्यवसायीले नारायणगढ बजार सुनसानझैँ भएकाले चहलपहल बढाउन २४सै घण्टा होटल तथा बजार खुला राख्न माग गरेका हुन् ।
विगतमा नारायणगढको पुल्चोक बजार सधैं खुला रहेको स्मरण गर्दै होटल व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले देशकै केन्द्रविन्दुमा रहेको पुल्चोक फेरि २४सै घण्टा खुला राख्नुपर्ने बताए ।
उनले भरतपुर भ्रमण वर्षले यहाँका होटलको अवस्थामा केही सुधार भएको उल्लेख गरे ।
होटलमा दक्ष जनशक्तिको अभावका कारण व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ थियो । उनले भने, 'होटलमा केही समय काम गर्न आउने सिक्ने अनि विदेशतिर जानेको जमात धेरै छ । अहिले होटल विदेश जानका लागि तयार गर्ने थलोजस्तो भएको छ ।'
उनले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको नारायणगढ बजार अहिले ७० प्रतिशत खाली रहेको जानकारी दिए । पार्किङको समस्याले गर्दा पनि व्यवसायी पलायन हुने अवस्था भएको उनले बताए ।
नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटललाई व्यवस्थित गरी नारायणी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बरालले बजारलाई चलायमान बनाउन २४सै घण्टा खुलाएर सेवा दिनुपर्ने धारणा राखे ।
उद्योग वाणिज्य सङ्घ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले भरतपुर भ्रमण वर्षले प्रत्यक्ष फाइदा होटल व्यवसायीलाई भएको र अप्रत्यक्ष रूपमा सबै व्यवसायीलाई फाइदा भएको बताए ।
उनले नारायणगढ बजारको अवस्था पार्किङको कारणले अस्तव्यस्त भएको हुँदा वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । सङ्घले व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र समस्या समाधानमा सबै व्यवसायी जुट्नुपर्ने उनको भनाइ थियो ।
होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा पनि काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गरे ।