१० साउन २०८३, आइतबार

‘नक्कली छोरी’ बनेर जग्गा हडप्ने प्रकरण : वडा अध्यक्ष भन्छन्- हस्ताक्षर गरेको हुँ, तर कुनै संलग्नता छैन

भदौ ९, २०८१
बुटवल
‘नक्कली छोरी’ बनेर जग्गा हडप्ने प्रकरण : वडा अध्यक्ष भन्छन्- हस्ताक्षर गरेको हुँ, तर कुनै संलग्नता छैन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर– ८ का अध्यक्ष राजनजंग राणाले ‘नक्कली छोरी’ बनेर मल्लाह परिवारको जग्गा हत्याउने प्रयासका आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।

दिवंगत निःसन्तान सुखु मल्लाह दम्पतीको सम्पत्ति कब्जा गर्न ‘नक्कली छोरी’ बनेर दुई महिला लागिपरेको रुपन्देहीको सिद्धार्थनगर– ६, गल्लामण्डीस्थित एक परिवारले जनप्रतिनिधि, प्रशासक र कर्मचारीको मिलेमतो रहेको पीडित परिवारको दाबी छ ।

सुखुका दाइका छोराहरू लालजीत र सन्त मल्लाहको नाममा गइसकेको अवस्थामा सुखु मल्लाहको सम्पति हत्याउन ‘नक्कली छोरी’हरू रिखीदेवी अग्रवाल र मालती मल्लाहले उक्त जग्गा हत्याउने प्रयास गरेका छन् ।

महिलाको नागरिकताबारे सिद्धार्थनगर–६ बाट सरजमिन गरिनुपर्नेमा सिद्धार्थनगर–८ बाट गरिएको थियो ।

फरक स्थानबाट गरिएको सरजमिनबारे परीक्षण र छानबिनबिनै जिल्ला अदालतले २०८० भदौ २६ मा ‘नक्कली छोरी’ बनेका रिखीदेवी र मालतीको पक्षमा फैसला गरेको मल्लाह दाजुभाइको आरोप छ ।

यसमा आफू कतै संलग्न नभएको वडा अध्यक्ष राणाले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

‘प्रहरीबाट सरजमिन गरेर आएको कागजात मैले हस्ताक्षर गरेको हुँ,’ राणाले भने, ‘त्यो कागजात कसरी बने भन्ने कुरा मलाई थाहा भएन । सरजमिन हाम्रो वडाबाट गराउने भूमिकामा मलाई जोडिएको भएता पनि उक्त कार्यमा म कुनै किसिमबाट सहभागी छैन ।’​

सरजमिनमा हस्ताक्षर गरेको भए पनि आफू गलत नभएको उनको दाबी छ ।

‘सरजमिनमा मेरो सहीछाप गरेको कुरालाई म स्वीकार गर्दछु,’ राणा भन्छन्, ‘मेरो मिलेमतोको आरोपको खण्डन गर्न चाहन्छु । साथै राज्यले गर्ने सबै प्रकारका छानबिन प्रक्रियामा निष्पक्ष ढंगले सघाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कार्यालय अवधिभर कार्यकक्षमा बसेर गर्नुपर्ने नियमित काम र नागरिकको सेवालाई प्राथमिकता दिएको उनले बताए ।

सामाजिक गतिविधिमा संलग्न भएर स्थानीय बासिन्दाका दुखसुःखमा हातेमालो गदै आएको उनको भनाइ छ । कुनै प्रलोभन नराखेर काम गदै आएको उनले प्रस्ट्याए ।

उनी नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा गरी दुई पटक लगातार निर्वाचित वडा अध्यक्ष हुन् ।​

रिखीदेवी अग्रवालको घर सिद्धार्थनगर ८ मा भएकाले चिनजान भए पनि मालती मल्लाहलाई आफूले नचिनेको वडा अध्यक्ष राणाको भनाइ छ ।​

salt training

कमेन्ट गर्नुहोस्