१६ असार २०८३, मंगलबार

२६६ विद्यार्थीलाई भरतपुर महानगरको पूर्ण छात्रवृत्ति

भदौ १०, २०८१
चितवन
२६६ विद्यार्थीलाई भरतपुर महानगरको पूर्ण छात्रवृत्ति

भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ  ।  

ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन् । 

उनले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गरिन् । उनले भनिन्, 'महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।'

शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उनले बताइन् । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । 'जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ,' शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भने । ३० वटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् ।

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन् । महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्